चैत महिनामा भित्रियो २ खर्ब ९ अर्ब ७५ करोड रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको हो। यो हालसम्मकै उच्च मासिक आप्रवाह मानिएको छ।

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको विनिमयदर बलियो बन्दै जाँदा रेमिट्यान्स रकममा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। हाल एक अमेरिकी डलर बराबर विनिमयदर १५२ रुपैयाँ पुगेको छ, जुन नेपाली रुपैयाँका लागि अहिलेसम्मकै कमजोर अवस्था मानिएको छ।

नेपालको मुद्रा भारतीय रुपैयाँसँग स्थिर विनिमयदरमा आबद्ध भएकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो।

यसअघि चालु आर्थिक वर्षको असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म कुल रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि १०.२ प्रतिशत रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। चैतसम्म ११ अर्ब ५५ करोड डलर बराबर रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.९ प्रतिशतले बढी हो।

त्यसैगरी खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेर १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर