ड्युटी फ्री पसलमा मदिरा बेचबिखन गर्न नपाइने !
काठमाडौं । नेपाल सरकारले ‘भन्सार नियमावली २०८३’ कार्यान्वयनमा ल्याउँदै करमुक्त (ड्युटी फ्री) पसल सञ्चालनको बाटो खोलेको छ । राजपत्रमा सोमबार प्रकाशित भन्सार नियमावली २०८३ अनुसार अब अन्तर्राष्ट्रिय विमानस्थल र सरकारले तोकेका अन्य स्थानहरूमा ड्युटी फ्री पसल सञ्चालन गर्न पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धा (टेण्डर) मार्फत इजाजत लिनुपर्नेछ ।
यी पसलहरू विशेषगरी विदेशी पर्यटक र स्थानीय विशिष्ट व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । पसलमा विभिन्न प्रकारका टिन प्याक खाद्य परिकार, च्युइङगम, बिस्कुट, वेफर, चकलेट, मिठाइ, श्रृंगारका सामान (कस्मेटिक्स), शरिर सफाइका सामग्री र सुगन्ध सम्बन्धी वस्तुहरू बिक्रीका लागि राखिनेछ ।
ड्युटी फ्री पसलको मुख्य आकर्षण भने विदेशी तथा स्वदेशी मदिरा उत्पादनको बिक्रीवितरण गर्नु हो तर यसपटकको भन्सार नियमावली २०८३ मा मदिराको बेचबिखन गर्ने कुरा उल्लेख गरिएको छैन ।
