देशभर गाडी भाडा ५ प्रतिशतले वृद्धि गर्ने निर्णय
काठमाडौं । इन्धनको लगातार बढ्दो मूल्यको प्रभाव सार्वजनिक यातायातमा पुनः देखिएको छ। सरकारले यात्रुवाहक तथा मालवाहक दुवै सवारीमा ५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरबाट भएको निर्णयअनुसार नयाँ भाडादर लागू गरिएको हो। विभागका निर्देशक मणि भुसालले डिजेलको मूल्यमा उल्लेख्य वृद्धि भएपछि भाडा समायोजन आवश्यक परेको बताएका छन्। यसअघि प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत मूल्य हाल २३५ रुपैयाँ ८३ पैसामा पुगेको छ। अर्थात्, करिब ३० प्रतिशतभन्दा बढी मूल्यवृद्धिले यातायात सञ्चालन खर्च बढाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा गरिएको यो निर्णयले देशभरका सार्वजनिक सवारीमा प्रत्यक्ष असर पार्नेछ। यसअघि गत चैत २५ गते पनि सरकारले भाडा समायोजन गर्दै विभिन्न शीर्षकमा दोहोरो अंकले वृद्धि गरेको थियो। इन्धनको मूल्य त्यसयता दुईपटक बढेपछि व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गर्दै आएका थिए। विभागले बढी दरमा वृद्धि सिफारिस गरे पनि अन्ततः सरकारले ५ प्रतिशतमै सीमित गर्दै भाडा बढाउने निर्णय गरेको हो।
