आर्थिक वृद्धिदर ३.८५% मा सीमित हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यका आधारमा गरिएको उक्त प्रक्षेपणमा वास्तविक मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। उपलब्ध ६-८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो प्रक्षेपण तयार गरिएको हो।

गत आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिए पनि संशोधित तथ्यांकअनुसार ४.४३ प्रतिशतमा सीमित भएको थियो। त्यतिबेला अर्थतन्त्रको आकार करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। सरकारले चालु आवको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर माघमा गरिएको अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले उक्त लक्ष्य घटाएर ३.५ प्रतिशतमा झारेको थियो।

यसैबीच, विश्व बैंक ले गत चैतमा सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ मा चालु वर्ष आर्थिक वृद्धि अझै खुम्चिएर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको थियो। सरकारी लक्ष्य र अन्तर्राष्ट्रिय संस्थाका प्रक्षेपणबीच फरक देखिए पनि चालु वर्ष नेपालको आर्थिक वृद्धि मध्यम स्तरमै सीमित रहने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर