चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा बर्डफ्लु

काठमाडौं ।  बर्डफ्लु (एच–फाइभ एन–वान)  चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला-ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन सक्ने र त्यसैबाट लेयर्स कुखुरा फार्ममा सङक्रमण फैलिएको अनुमान विभागले गरेको छ ।

बर्डफ्लु देखिएपछि कम्तीमा एक लाख १३ हजार ६०८ कुखुरा तथा हाँस नष्ट गरिएको विभागका महानिर्देशक डा.उमेश दाहालले जानकारी दिए । चार जिल्लामा दुई लाख ११ हजार ८६७ वटा अन्डा र २५ हजार आठ सय किलो दाना नष्ट गरिएको र नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको छ ।

पशुसेवा विभागको सूचना अधिकारी डा. इन्दिरा शर्माले फार्म सिमसार क्षेत्रको नजिक भएको र मानव जैविक सुरक्षामा ध्यान नदिएको र सवारीसाधन र आगन्तुकको अनियन्त्रित आवतजावत देखिएको बताए । किसानले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड, २०७९ अनुसार राहत पाउने छ ।  प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने कानुनी व्यवस्था छ । बर्डफ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने सङक्रामक भाइरल घातक रोग हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर