काठमाडौं । डलरको मूल्य बढ्दा सार्वजनिक ऋणमा अतिरिक्त रूपमा करिब ९३ अर्ब रुपैयाँ दायित्व थपिएको छ । डलरको मूल्यमा आएको बृद्धिले चालु आर्थिक बर्ष २०८२–८३ मै अतिरिक्त रुपमा विदेशी ऋणमा ९२ अर्ब ९६ करोड ८३ लाख रुपैयाँको दायित्व थपिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
गत आवमा विदेशी ऋणको दायित्व १४ खर्ब पाँच अर्ब ८२ करोड रुपैयाँ थियो । चालु आवको माघ मसान्तसम्म सरकारले ३७ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ विदेशी ऋण प्राप्ति गरेको छ । यसैगरी २६ अर्ब ७६ करोड नौ लाख रुपैयाँभने साँवा भुक्तानी भएको छ । त्यसमा विदेशी मुद्रामा आएको परिवर्तनले ९२ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ दायित्व थपिएको हो । यसरी माघ मसान्तसम्म आउँदा विदेशी ऋणको आकार १५ खर्ब नौ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
विदेशबाट लिएको ऋण विदेशी मुद्रामै भुक्तानी गर्नुपर्छ । त्यो अवस्थामा विदेशी मुद्राको मूल्य बढ्दा विदेशी ऋणको दायित्व पनि अतिरिक्त रुपमा बढ्छ । विदेशी मुद्राको मूल्य घटेको अवस्थामा भने ऋणको दायित्व सस्तो हुनेछ ।
माघ मसान्तसम्म आउँदा सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सार्वजनिक ऋणको आकार २६ खर्ब ७४ अर्ब चार करोड ७७ लाख रुपैयाँ थियो । चालु आवको सात महिनामा भने दुई खर्ब ५५ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ प्राप्ति भएको छ । यसैगरी एक खर्ब ६३ अर्ब ५२ करोड नौ लाख रुपैयाँसाँवा भुक्तानी गरिएको छ । त्यसमा ९२ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ दायित्व भने विदेशी मुद्रामा आएको बृद्धिले थपिएको छ ।
सरकारले ब्याजसहित तिर्यो दुई खर्ब ऋण
समीक्षा अवधिमा सरकारले ब्याज सहित दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ ऋण तिरेको छ । यो बर्ष सरकारले सावाँतर्फ तीन खर्ब दुई अर्ब ४७ करोड र ब्याजतर्फ एक खर्ब आठ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्ने लक्ष्य लिएको छ । त्यसमा समीक्षा अवधिमा साँवा एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ र ब्याजतर्फ ४० अर्ब १३ करोड ५२ लाख रुपैयाँ भुक्तानी भएको छ ।
सरकारले चालु आवको सात महिनामा आन्तरिक तर्फ एक खर्ब ३६ अर्ब ७६ करोड सावाँ र ३३ अर्ब ८५ करोड ब्याज गरेर एक खर्ब ७० अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गरेको छ । यसैगरी बाह्यतर्फ २६ अर्ब ७६ करोड साँवा र ६ अर्ब २८ करोड ब्याज भुक्तानी गरिएको छ ।