कांग्रेसको महत्वाकांक्षी आर्थिक घोषणा पत्र
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ पु-याउने र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर बनाउने महत्त्वाकांक्षी लक्ष्य तय गरेको छ। यस लक्ष्यलाई प्राप्त गर्न ‘दोस्रो पुस्ताको आर्थिक सुधार’ लागु गरिने घोषणा गरिएको छ। हाल नेपालीको प्रतिव्यक्ति आय करिब १५ सय डलर रहेको छ।
कांग्रेसले आफ्नो आर्थिक नीतिलाई परिमार्जन गर्दै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’का रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टीका सभापति गगन थापाले घोषणा–पत्रको पूर्णपाठ सार्वजनिक गर्दै अर्थतन्त्रलाई नयाँ ढंगले पुनःसंरचना गर्ने स्पष्ट दृष्टिकोण अघि सारेका हुन्।
कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा अर्थतन्त्रलाई ‘प्रो–प्राइभेट’, ‘प्रो–ग्रोथ’ र ‘प्रो–सोसल जस्टिस’का तीन आधारभूत स्तम्भमा अघि बढाइने उल्लेख छ। कांग्रेस सभापति थापाले हरेक क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने घोषणा गरे।
यस लक्ष्य हासिल गर्न कुल १३७.५ खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने उल्लेख छ। आर्थिक विकासका लागि करिब ८० प्रतिशत लगानी निजी क्षेत्रबाट जुटाइने योजना उल्लेख गरिएको छ। कांग्रेसले व्यक्तिगत वार्षिक १० लाख रुपैयाँसम्मको आयमा आयकर नलाग्ने व्यवस्था गरी मध्यम तथा न्यून आय वर्गलाई राहत दिने योजना ल्याएको छ।
