फागुनका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशतविन्दुले घट्दै ४.५६ प्रतिशत विन्दुमा झरेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ओरालो लागेको छ। यसतर्फको अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटेको छ।
फागुन महिनामा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ। ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन्।
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। यस बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ। यस्तै, सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।
