कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको सचेत कारवाही

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गरेका दुई वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरिएको जानकारी दिएको हो। यी दुवै बैंकलाई पहिलो पटकका लागि सचेत गराइएको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) अनुसार, कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था  छ। तर कुमारी बैंकले उक्त व्यवस्थाको पालना नगरेको हुँदा राष्ट्र बैंकले  ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) का आधारमा बैंकलाई सचेत गराएको छ।

यसैगरी, निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १ (ख) अनुसार केही कर्जाहरूको वर्गीकरण कर्जाको भुक्तानी अवधि नाघेको आधारमा नगरेको पाइएको छ। साथै, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) अनुसार, केही कर्जामा नोक्सानी व्यवस्थाको पालना नगरेको र जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ का आधारमा जोखिम भार गणना नगरेको पाएपछि प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर