तिहारमा काठमाडौंमा ४० करोडको फूलको कारोवार हुने अनुमान

काठमाडौं ।  यसपालिको तिहारमा काठमाडौं उपत्यकामा ४० करोड रुपैयाँबराबरको पैँतालीस लाख वटा सयपत्री र मखमलीको माला खपत हुने अनुमान गरिएको छ ।

तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिनुभयो । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उहाँले जानकारी दिनुभयो । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।

मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।

युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपैयाँसम्म रहेको छ । फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय सातै प्रदेशका मुख्य सहरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ । मुलुकभर २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । पुष्प व्यवसायी मीनबहादुर तामाङले पुष्प व्यवसायबाट राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा पुष्प खेती विस्तार हुँदै गएको जानकारी दिनुभयो । फ्यानका अनुसार ५२ जिल्लामा भएको पुष्प खेती भइरहेको र पुष्प क्षेत्रमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको उहाँले जानकारी दिनुभयो । पुष्प व्यवसायमा ५३ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई करोड १३ लाख ६० हजार रुपैयाँको पुष्पजन्य वस्तुको निर्यात भएकोमा १२ करोड ७० लाख ८९ हजार रुपैयाँको आयात भएको छ ।  नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, बिउबिजन, ताजा कट फूल, बल्ब, ट्युबर, ट्युबर रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइबान, इजरायलबाट नेपालमा पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर