पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । यो नयाँ समायोजनसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो क्षेत्रमा पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ तोकिएको छ ।
निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ । जसअनुसार सुर्खेत र दाङ डिपोअन्तर्गतका क्षेत्रमा पनि मूल्य समायोजन भएको छ । समायोजित नयाँ मूल्य शुक्रवार मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको भाउ बढेर आएको र डिजेलको मूल्य घटेर आएकाले सोही बमोजिम नेपालमा मूल्य समायोजन गरिएको निगमले उल्लेख गरेको छ ।