आज आइतबार नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज ६३ दशमलव ७३ अंकले घटेर दुई हजार आठ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १८ प्रतिशतको गिरावट हो ।
आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह तीन दशमलव शून्य पाँच, बैंकिङ दुई दशमलव २७, लगानी दुई दशमलव १९, जीवन बिमा दुई दशमलव १६ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४३ प्रतिशतले घटेको छ ।
विकास बैंक एक दशमलव ६६, वित्त एक दशमलव ६६, होटल तथा पर्यटन एक दशमलव १७, जलविद्युत् एक दशमलव ३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा एक दशमलव ७३ र व्यापार एक दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड ३९ लाख ६४ हजार ८६५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सनराइज ब्लुचिप फण्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ ।