आज साउन १ गतेदेखि सुनमा विलाशिता कर, तोलामा ३ सय रुपैयाँ महँगो

काठमाडौं । आज साउन १ गतेदेखि सुनचाँदीको खरिद बिक्रीमा विलाशिता कर लागेको छ । आर्थिक विधेयकमार्फत व्यवस्था भएबमोजिम कारोबारको २ प्रतिशतबराबरको कर लागेको हो ।
बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ । अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ ।
उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।
सुन तोलामा ३ सय रुपैयाँ महँगो
यसैबीच, आज सुन तोलामा ३ सय रुपैयाँ महँगो भएको छ । हिजो बुधबार सुनको तोलाको १ लाख ९२ हजार रुपैयाँ रहेकोमा आज बिहीबार छापावाल सुनको १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदी प्रति तोलाको आज बिहीबार ५ रुपैयाँ महँगो भएको छ । हिजो बुधबार चाँदी तोलाको मूल्य २,२६० रुपैयाँ थियो भने आज बिहीबार चाँदी प्रति तोला २,२६५ कायम भएको छ ।