वाणिज्य बैंकहरुको साउनका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाकालागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज बुधबार सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार साउन महिनाका लागि अधिकांश बैंकहरूले ब्याज घटाएका छन् ।
२० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकले असारकै ब्याजदरलाई कायम राखेका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५।५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ ।
यस्तै सबैभन्दा धेरै घटाउनेमा प्रभु बैंकले रहेको छ । प्रभुले १.८५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । साउनमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र नेपाल बैंकले भने साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । अर्थात, यी बैंकले साउनमा पनि असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४।५ प्रतिशतमा झारेको घोषणा गरेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् ।