आज सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँ

काठमाडौं । लामो समयको हडताल र प्रदर्शनपछि आजदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नियमित मूल्य निर्धारण गर्न सुरु गरेको छ । महासंघद्वारा आज शुक्रबारका लागि छापावाल सुन प्रति तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै आज शुक्रबारका लागि चाँदी प्रति तोलाको दुई हजार दुई बीस रुपैयाँ निर्धारण गरेको । महासंघले सुनचाँदीमा २ प्रतिशत विलाशिता कर रत्नहरूमा १३ प्रतिशत भ्याट खारेजको माग गर्दै सुन पसलहरू बन्द गर्दै आन्दोलन गरेका थिए ।
सरकार र सुनचाँदी व्यवसायीबिच हिजो बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको महासङ्घले जनाएको छ । विरोधका कार्यक्रम स्थगन भएपछि शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने महासङ्घका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । कर र भ्याटका विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने र कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागू नहुने सहमति भएको उनले जानकारी दिए । व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र कार्यदलको सचिवालय अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा रहने सहमति भएको छ ।
विलाशिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ । यस्तै सुनचाँदीको बिक्रीवितरणका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँज हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्नेलगायतका विषयमा सहमति भएको महासङ्घले जनाएको छ ।