साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले भनेको छ । हाल कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तिभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् ।
जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागू भएको छ । सोअनुसार सरकारी कर्मचारीहरुले मासिक तलबको ६ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने र अवकाशपछि सोही कोषबाट निवृत्तिभरण पाउने व्यवस्था रहेको छ ।