विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’

काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट बिहीबार शुभारम्भ गरेका छन् ।
यो एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ । यो विवरण प्राप्त भएपछि नेपाली रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ। श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले सहज हुनेछ ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूतावासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ। सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भर्नु पर्नेछ।