६१ किलो सुन तस्करी : अमला रोका पुनः पक्राउ
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकालाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी पुनः पक्राउ परेकी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएको भन्दै फेरि नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले भने, ‘सम्पत्ति शुद्धिकरण विभागबाट हामीलाई पत्र आएको थियो। सोही आधारमा उनलाई फेरि नियन्त्रणमा लिएर पठाइएको हो ।’
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिससमेत जारी गरिएको थियो । यसअघि अदालतले उनलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, अन्य निकायबाट अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले उनीमाथिको अनुसन्धान जारी राखेको जनाएको छ ।
