नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग बदला लिएको छ । यसअघि तीन पटक सुपर ओभरहुँदा पराजित भएको नेपालले विहीबार भने ६ विकेटको शानदार जित दर्ता गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेख नायक बने । १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ओभरका २ बल बाँकी हुँदै पुरा गरेको थियो । कुशलले ५१ बलमा ६५ रनको शानदार पारि खेले । उनले ६ चौका प्रहार गरेका थिए । यसैगरी आजै टी २० मा डेब्यु गरेका भीम सार्कीको प्रदर्शन पवनि सम्झन लायक रह्यो ।
उनले १६ बलमा १ छक्का र २ चौका प्रहार गरेका थिए । यस्तै, आरिफ शेख २३ बलमा ३९ रन जोडेर रिटायर्ड हट भए । उनले २ छक्का र ३ चौका प्रहार गरेपछि नेपाललाई जित नजिक लगेका थिए ।
उनी बाहिरिएपछि क्रिजमा आएका लोकेश बलमे ४ बल फेस गर्दा १२ रन जोडे । जसमा २ छक्का सामेल छन् । यस्तै, दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा १२ बल फेस गरे । कप्तान रोहित पौडेल ५ तथा आशिफ शेख ७ रनमा पभेलियन फर्किए । नेदरल्याण्ड्सले ६ जना बलर प्रयोग गर्दा ४ बलरले एक एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७४ रन बनायो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने । त्यस्तै रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए ।
आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे । बलिङतर्फ नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।