सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो

काठमाडौं ।  ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । मितेरी सहकारीको रकम हिनामिना गरी विगत डेढ वर्षदेखि फरार भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत गत कात्तिकमा रेडकर्नर नोटिस र  डिफ्युजन नोटिससमेत जारी भएको थियो ।

फरार भण्डारी कम्बोडियामा लुकीछिपी बसेको सुराकीपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरेको थियो । डिफ्युजन नोटिस फरार आरोपित लुकेको देश पत्ता लागेमा इन्टरपोलमार्फत सम्बन्धित देशको राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) लाई सिधै पक्राउका लागि अनुरोध गरिन्छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सहकारीको करोडौँ रकम हिनामिना गरी फरार रहेका भण्डारी कम्बोडियामा लुकेर बसेको सूचनापछि सिआबीको अनुरोधमा प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलमा रेड नोटिससँगै डिफ्युजन नोटिससमेत जारी गरिएको बताए । भण्डारी कम्बोडियामा पक्राउ परेसँगै नेपाल ल्याउन प्रहरी प्रधान कार्यालय अन्तर्गतको इन्टरपोलको एक टोली कम्बोडिया पुगेको थियो ।

बोगटीका अनुसार सहकारीका बचतकर्ताको ठुलो रकम हिनामिना गरी भण्डारी भागेर थाइल्यान्ड पुगेको र त्यहाँबाट कम्बोडिया पुगेको अनुसन्धानबाट खुलेको थियो । सहकारीका सदस्यसमेत नरहेका र कुनै जिम्मेवारीमा नरहेका भण्डारीले झन्डै १५ करोड रुपियाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । रकम हिनामिना गरी थाइल्यान्ड पुगेका भण्डारीले अवैध रूपमा क्रिप्टोकरेन्सीमा लगानी गरेको आशङ्का गरिएको छ ।

भण्डारीको ठगी शृङ्खला 

इन्टरपोलमार्फत कम्बोडियामा पक्राउ परेका भण्डारीको ठगी र किर्ते शृङ्खला लामो भेटिएको छ । बर्दिया र काठमाडौँबाट छुट्टाछुट्टै दुई वटा नागरिकता लिएका भण्डारीसँग काठमाडौँ र कास्कीबाट दुई वटा छुट्टाछुट्टै पासपोर्टसमेत लिएको फेला परेको छ ।

मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा कुनै जिम्मेवारीमा नरही सदस्यसमेत नभएका भण्डारीको मुख्य योजनामा १४ करोड ८१ लाख रुपियाँ हिनामिना भएको पाइएपछि बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो ।

सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समितिले गरेको अध्ययनमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ज्योतिबहादुर भण्डारी, ज्योति गुरुङ, सुजन शाक्य, हितमान थापा र प्रकाश थापालगायतको संलग्नता रहेको बयान दिएको थियो ।

रकम हिनामिनाका अर्का आरोपी ज्योति गरुङलाई पक्राउ गर्न इन्टरपोलमार्फत गत कात्तिकमा नै रेडकर्नर नोटिस जारी भइसकेको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नीसमेत हुनुहुन्छ । बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय तथा संसदीय छानबिन समितिको सिफारिसमा सहकारी ठगीबारे सिआइबीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।

विभिन्न व्यक्तिले भण्डारीबाट ठगिएको भनी उजुरी दिएपछि काठमाडौँ प्रहरी परिसरले छुट्टाछुट्टै ठगी प्रकरणमा तीन वटा पक्राउ पुर्जीको अनुमति लिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी अनुसार मितेरी सहकारीको रकम हिनामिनामा फरार भण्डारी थाइल्यान्डमा बसी पुनः मितेरी सहकारीका सञ्चालक र पदाधिकारीलाई रकम फिर्ता गर्ने प्रलोभनमा उल्टै थप तीन करोडसमेत ठगेको भनी सिआइबीमा उजुरी परेको छ ।

सहकारीको रकम हिनामिना फिर्ता गर्ने भनी थप रकम माग गरेपछि सहकारीका सञ्चालक र पदाधिकारीले आफ्नो निजी सम्पत्ति र घरसमेत बेचेर थप रकम बुझाएको खुलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर