कांग्रेसका नेता शास्त्रीको निधनमा तीनदिने शोक घोषणा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री एवं प्रखर समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ८९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा सोमबार उनको निधन भएको हो । शास्त्रीको निधनसँगै नेपाली राजनीतिले एक बौद्धिक, अनुभवी र निष्ठावान नेता गुमाएको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले शास्त्रीको निधनले पार्टीलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसको संगठन निर्माण, प्रजातन्त्रप्रतिको प्रतिबद्धता र समाजवादी विचारको प्रवर्द्धनमा पुर्याएको योगदान सधैं स्मरणीय रहने जनाएको छ ।
विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । जननायक बी.पी. कोइरालाका अनुयायीसमेत रहेका उनले लामो समय भारतमा निर्वासित जीवनसमेत व्यतित गरे । आफ्नो प्रखर समाजवादी चिन्तन र प्रष्ट वक्ताका रूपमा उनी पार्टीभित्र र बाहिर परिचित थिए ।
वि.सं. १९९३ जेठ २४ गते अर्घाखाँचीको किमहाडाँडामा जन्मिएका शास्त्री वि.सं. २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पार्टीले शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति उच्च सम्मान प्रकट गरेको छ ।
तीनदिने शोक घोषणा, पार्टीको झण्डा आधा झुकाइने
शास्त्रीको सम्मानमा कांग्रेसले देशभर शोकका कार्यक्रमहरू घोषणा गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार, असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ ।
त्यस्तै, असार ५ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द गरिनेछन् । १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिनेछ भने १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गरिने निर्णय भएको छ । बैठकले स्वर्गीय शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।