इजरायलका नेपालीको उद्धार कार्ययोजना

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धग्रस्त देश इजरायलमा कार्यरत श्रमिकलाई सुरक्षित गर्दै उद्धार गर्ने विषयमा कार्ययोजना बनाएको छ ।

श्रम मन्त्रालयमा हिजो मङ्गलबार श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समिति, वैदेशिक रोजगार विभाग र सरोकारवालासहितको आपतकालीन बैठकले सो विषयको कार्ययोजना बनाएको हो । बैठकले गएको शुक्रबारदेखि इजरायल र इरानबिच युद्ध चर्किन थालेसँगै मध्यपूर्वी देशमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित गर्ने र उद्धार गर्ने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने विषयमा सहमति भएको जनाइएको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बैठकमा नेपाली श्रमिकको उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने निर्णय भएको जानकारी दिए । स्थलगत मार्गबाट उद्धार गर्न छिमेकी देशमा प्रवेश गर्न सीमामै भिसा उपलब्ध गराउन अनुरोध गर्ने र आपतकालीन कामबाहेक मध्यपूर्व क्षेत्रमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

महानिर्देशक भट्टराईका अनुसार युद्धग्रस्त क्षेत्रका नेपालीलाई मानसिक परामर्श सेवा सुरु गर्ने, मध्यपूर्वमा श्रमिक नलैजान रोजगारदातालाई अनुरोध गर्ने, श्रमिकको हवाई टिकट सार्न लाग्ने खर्च मिनाहा गर्न पर्यटन मन्त्रालयमार्फत उडान कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै दूतावासलाई आवश्यक स्रोत उपलब्ध गराउने र आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि स्थान दिन भारत र चीनलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । महानिर्देशक भट्टराईले विभागबाट विभिन्न माध्यम प्रयोग गरेर त्यहाँ कार्यरत श्रमिकसँग प्रत्यक्ष कुराकानी गर्दा कतिपयले आफूहरू सुरक्षित रहेकाले अहिलेको अवस्थामा रोजगारी छोडेर नफर्किने प्रतिक्रिया दिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर