खाडी मुलुकमा गएका महिलाको वेदनाप्रति मन्त्रीहरू हेरेर बस्छन् : सांसद पराजुली

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । सिंहदरबारमा शुक्रवार बसेको समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले भने, ‘बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिबन्ध लागे पनि फेरि प्रतिबन्ध खुलाउँदै कामदारहरू गएको अवस्था छ । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् यसमा मेरो प्रश्न ? खै श्रम मन्त्री ? खै कानूनमन्त्री? । नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा केही छैन । अहिले पनि एक लाख भन्दा बढी महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराख्नु भएको छ । हाम्रो सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानूनमन्त्री र श्रम मन्त्री हेरेर बसिरहनु हुन्छ ।’