जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

भक्तपुर । प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बायाँतर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरू । अन्तरराष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसर पारेर समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्रीलाई बालश्रमिकको चिठ्ठी हस्तान्तरण कार्यक्रममा १९ जना बालबालिकाको भोगाइ र पीडाले भरिएका पत्रहरू वाचन भए ।
इँटाभट्टादेखि यातायात मजदुरसम्म, घरेलु बालश्रमदेखि जोखिमपूर्ण श्रममा लागेका बालश्रमिकहरूले आफ्ना बालापनमा भोगेका कठिन र यथार्थ भोगाइ समेटिएको पत्र झण्डै एक घण्टा वाचन गर्दै बालश्रम अन्त्यका लागि राज्यबाट पलाएको आशा राखिरहेका थिए । कार्यक्रममा उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा पुष्पा मगरले आफूले भोगेका श्रमका कथाहरू वाचन गर्नुभयो । त्यो कथा सुनेर प्रधानमन्त्री स्तब्ध हुनुभयो ।
जब प्रधानमन्त्री ओलीले बोल्न माइक तान्नुभयो । बालबालिका र अधिकारकर्मीलाई सम्बोधन गर्नुभयो । तब उहाँको आवाज टक्क रोकियो, निकैबेर उहाँको गला अवरुद्ध भयो । भर्खरै सुन्नुभएको बालश्रमिकको पीडाको आवाजले मन निकै गह्रौँ बनायो । उहाँका आँखा रसाए । रूमाल निकालेर आँसु पुछ्दै नजिकै रहनुभएकी पत्नी राधिकालाई केही बोलिदिन आग्रह गर्नुभयो । उहाँ पनि भावुक बन्नुभएको थियो । उहाँका आँखा पनि रसाइरहेका थिए । उहाँको पनि अवाज निस्किएन । अगाडि रहेका बालबालिका र अधिकारकर्मी धेरैका आँखा त्यसैगरी रसाए ।
निकैबेर भावुक बन्नुभएका प्रधानमन्त्रीले भन्नुभयो, “मलाई सबभन्दा बढी माया बालबालिकाको लाग्छ, बालबालिकाले दुःख पाएको देख्न सक्दिनँ, सुन्न पनि सक्दिनँ, बालबालिका सधैँ हासीखुसी रहुन् भन्ने लाग्छ । दुःख कहिल्य नपाउन् भन्ने लाग्छ । जीवनमा मैले कहिले बालबालिकालाई एकपटक पनि कुटेको छैन, एक शब्द गाली गरेको छैन, बालबालिकालाई रुवाउन होइन, बरु रोएकालाई हसाउन खोज्छु ।”
सामन्तवाद र शोषण गरेर गरिब बनाएको हाम्रो देशका जनताले समाज कस्तो थियो, अधिकार के हो थाहा पाउन र प्रधानमन्त्री वा मन्त्रीलाई भेट्न पनि नसक्ने अवस्थामा अहिले लोकतन्त्रमा यसरी बालबालिका आफ्नो देशको प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न सक्ने अवस्थामा पुग्नु, आफूमाथि शोषण भएको, हिंसा भएको थाहा पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो श्रीमती पनि बालश्रम गरेरै पढेको बताउँदै विकास र बालबालिकाको अधिकारका लागि अहिलेको सरकारले काम गरिरहेको बताउनुभयो । विगत १० वर्ष अगाडि आफू प्रधानमन्त्री हुँदा सडकभरि बालबालिका कुकुरसँगै सुतेको, कुकुरसँगै बसेर खाएको, कुकुरसँगै झगडा गरेको देखेर निकै पीडा भएपछि सडकबाट बालबालिका उठाएर खाने, बस्ने, शिक्षादीक्षाको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले २० प्रतिशत जनता अझै पनि गरिब रहेको र प्रत्येक एक सय जनामा एक जना बालबालिका गरिब रहेको बताउँदै उहाँले बालश्रम न्यूनीकरणका लागि स्पष्ट रूपमा लागिरहेको बताउनुभयो । संविधानमा मौलिक हकमै बालबालिकाको अधिकारलाई संविधानमै सुरक्षित रूपमा व्यवस्था गरेको बताउँदै उहाँले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई बालश्रम निषेध गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिने बताउनुभयो ।