सूर्यविनायक नगर प्रमुख वासुदेव थापालाई दशा आइलाग्यो
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई दशा आइलागेको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दामा परेका थापाले उक्त हदबन्दी छुट जग्गा खरिद गरेकाले दशा आइलागेको हो । उनले जग्गा किन्दा त दशा लागेको थिएन तर अहिले खख्तियारले मुद्दा हाल्दा नचाहिँदो दशा लागेको हो । थापाले आफ्नो स्वआर्जनले जग्गा खरिद गरेता पनि उनको पद भने माधव नेपालको सांसद पदजस्तो निलम्बनमा नपर्ने भएको छ । हिजो बिहीबार अख्तियार अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गर्दा प्रमुख थापाको नाम पनि जोडिन पुगेको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।
प्रमुख थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । त्यसैको आधारमा उनलाई अख्तियारले प्रतिवादी बनाएको हो । त्यही जग्गा जफतको प्रयोजनको लागि मात्रै उनीलाई प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले बताए । यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पनि जग्गा जफतमात्र भएको थियो ।
प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको भन्ने गत कात्तिकमा अख्तियारमा बयान दिएका थिए । बयानमा उनले आफूलाई उक्त जग्गा पतञ्जलीको जग्गा भएको जानकारी नभएकाले डिल्लीध्वज बराइलीसँग किनेको बताएका थिए । साथै आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्याई खरिद गरेको बयान दिएका थिए । जग्गा जफत प्रयोजनका लागि प्रमुख थापासहित २८ जना र २ कम्पनीलाई प्रतिवादी बनाएको छ । बाँकी ६३ जनालाई भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएका छन् ।
