समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन्।

मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आइतबार जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन् ।

सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि बामे सराइ नभई रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भएर विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने छ। साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुुर्‍याइने छ। ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड बक्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर