आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

काठमाडौं । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनरत व्यवसायीलाई वार्तामा बोलाए पनि सहभागी नभएको जनाएको छ ।
मन्त्रालयका सचिव एवं वार्ता समितिका संयोजक कमलकुमार अधिकारीले बन्द हड्तालका कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पुनः आह्वान गरे । उनले नियमावलीमा छलफल हुन सक्ने तर खारेज नहुने बताए । ‘नियमावलीका विषयमा छलफल हुन सक्छ । तर, नियमावली खारेज हुँदैन । प्रदेश सरकारले यसको अपनत्व लिएको छ,’ उनले भने ।
मन्त्रालयका उपसचिव प्रेम सुवेदीले नियमावली बनाउने विषय पटक पटक छलफल भएको सुनाए । ‘यो भर्खरै बनेको कुरा होइन । यो सुरु भएको एक वर्ष भइसक्यो । धेरै चरणमा छलफल भएको छ । उहाँहरूले पनि हस्ताक्षर गर्नुभएको छ । एकदुईटा कुरामा उहाँहरूको विमति छ । ती विमति भएका कुराहरूमा आउनुस् । छलफल गरौँ भनेको हौँ,’ उनले भने, ‘छलफल नै नगर्ने हो भने प्रदेश सरकारले उचित निर्णय गर्छ ।’