प्रतिपक्षी दल गृहमन्त्रीको राजीनामामा अडिग, नारायणहिटी क्षेत्र निषेधित क्षेत्र

काठमाडौं । प्रतिनिधिसभा कार्य व्यवस्था समितिको आज शुक्रबार बसेको बैठकले सदनको जेठ र असारको पाक्षिक सम्भावित कार्य तालिका सार्वजनिक गरेको छ । समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुंग्याएको हो । तर, बैठक कसरी अगाडि बढ्छ भन्ने विषयमा भने दलहरूका आ–आफ्नै अडान छन् । गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान कायमै रहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र आसपास प्रदर्शन निषेध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै शनिबार (जेठ १७) देखि आगामी २४ असारसम्म संग्रहालय क्षेत्रवरपर पाँच जनाभन्दा बढी भेला भई कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न नपाइने निर्णय गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी तिवारीद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै दरबार संग्रहालय दक्षिण गेटसम्मको क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभा जस्ता गतिविधिहरू निषेध गरिएको छ ।
हिजो बिहीबार शान्ति बाटिकाबाट सुरु भएको राजावादी आन्दोलन शनिबार माइतीघर मण्डलामा पुगेको थियो । आन्दोलनकारीहरूले राजसंस्थाको पुनःस्थापनासहित हिन्दु राष्ट्र घोषणा र संघीयता खारेज गर्न माग गर्दै नारायणहिटी क्षेत्रतर्फ सम्भावित प्रदर्शनलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको हो ।