रमेश लेखकको दृष्टिमा तीर्थ भट्टराईको प्रशासनिक नालीबेली

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियारको छानविनमा परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निर्देशक तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा आफूले नल्याएको प्रष्ट पारेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भट्टराईलाई आफूले नै गृह मन्त्रालयमा ल्याएर उक्त ठाउँमा पठाएको जस्तो प्रचार गरिएको भन्दै उनले विगत ५ वर्षदेखि उनी गृह अन्तर्गत नै रहेको बताए ।
मन्त्री लेखकले भट्टराईलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामवहादुर थापा बादलको पालामा गृह मन्त्रालयबाट गोरखा र त्यसपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको स्मरण गराए । त्यस्तै भट्टराईलाई २०७८ सालमा बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गृह मन्त्रालयअन्तर्गत पञ्जीकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको सिडिओ बनाइएको बताए ।
२०७९ सालमा प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृह मन्त्रालयमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुञ्जेल उनी सोही विभागका रहेको बताए । त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई २०८० साउन ४ गते हेटौंडास्थित मुख्यमन्त्री कार्यालयबाट गृहमा ल्याइएको लेखकले बताए । उनले आफू गृहमन्त्री भएर आउँदा उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेको बताए ।