भोलिको प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दे शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्ति
राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेद्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जिल्ला प्रहरी प्रमुखहरूसँग आयोगमा आज छलफल भएको छ ।
छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गरिएको, दुई पक्ष बिच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चार गृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले बताउनुभएको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गर्नुभएको छ । आयोगले विभिन्न टोलीहरू बनाई भोलि १५ गते हुने प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्नेछ ।
आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एक अर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ । साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आङ्कलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गर्दछ ।
डा. टीकाराम पोखरेल
सहसचिव / प्रवक्ता