प्रतिनिधिसभाको बैठक भोलि बुधबार ११ बजे बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार ११ बजे बस्ने गरी स्थगित भएको छ । आज मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि दोस्रो पटक दिउसो २ः३० बजेका लागि बोलाइको थियो । यसअघि सुरुमा आधा घन्टाका लागि बैठक स्थागित गरिएको थियो । बैठक सूचना टाँस गरी भोलि बुधबार ११ बजे बस्न गरी स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
यसअघि आजको बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलले संसदको बैठक अवरुद्ध पारेपछि सभामुखले आधा घन्टाका लागि संसद बैठक स्थगित गरेका थिए । सभामुखले संसद बैठक सुरु गर्नासाथ सबै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिएको थियो ।
सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे । संसद् बैठक सुचारु गर्न प्रयास भइरहेको भए पनि अन्त्यमा स्थगन गरिएको संसद सचिवालयले जनाएको छ।