सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामुक्त गर्न इन्कार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न इन्कार गरेको छ। लामिछानेले आफूलाई थुना मुक्त गरिपाउँ भनी दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ।
न्यायाधीशद्वय डा. नहकूल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछाने पत्नी निकिता पौडेलले रिहा गर्न माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै उनलाई थुना मुक्त गर्न इन्कार गरेको हो। सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। लामिछानेले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए।