संदिग्ध गतिविधिको आशंकामा एक नेपाली दिल्लीमा पक्राउ

काठमाडौं । दिल्ली प्रहरीले गएको जनवरीदेखि मार्चसम्म सञ्चालन गरेको एउटा गोप्य अभियानले पाकिस्तानको जासूसी सेलको नेटवर्क फेला पारेको छ। भारतीय टेलिभिजन नेटवर्क एनडिटीभीका अनुसार जासूसी कार्यका लागि उपयोग हुने ‘स्लीपर सेल’ का दुई कार्यकर्ताहरुलाई नेटवर्क पछ्याउने क्रममा फेला पारेको र ती दुईमध्ये एक नेपाली नागरिक रहेको समाचारमा जनाइएको छ ।
पक्राउ परेका दुईमध्ये एक अन्सारुल मिया अन्सारी नेपाली नागरिक रहेको दाबी गरिएको छ । उनले भारतीय सेनाका बारेमा गोप्य कागजातहरू बनाएको र ती कागजातहरू दिल्ली प्रहरीले फेला पारेको बताइएको छ । ती सूचना पाकिस्तानी जासूसी संस्था आईएसआईका लागि तयार पारिएको जनाइएको छ ।
प्रहरीले अर्का एक व्यक्तिका बारेमा नाम नखुलाए पनि दुवैलाई प्रहरीले नियन्त्रणमा लिएपछि हाल तिहाड कारागार चलान गरिएको बताइएको छ । अन्सारी पाकिस्तान जाने क्रममा दिल्लीबाट पक्राउ गरिएको बताइएको छ । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको निर्देशनमा अन्सारी दिल्ली पुगेका थिए । उनलाई गोप्य कागजातको सिडी बनाएर पाकिस्तान पठाउन लागिएको थियो । उनलाई पक्राउ गरेपछि अर्का एक व्यक्ति राँचीबाट पक्राउ परेको जनाइएको छ ।
अन्सारी यसअघि कतारमा ट्याक्सी चलाउने गरेका थिए । त्यहीँ उनले आईएसआईका एक एजेन्टसँग भेट भएको थियो । कतारपछि उनी पाकिस्तान पुगेका थिए । त्यहीँ उनलाई आईएसआईका उच्च अधिकारीहरूले केही दिनको प्रशिक्षण दिएपछि नेपाल पठाइएको थियो । उनलाई नेपालबाट दिल्ली हुँदै पाकिस्तान जाने बेलामा पक्राउ गरिएको बताइएको छ ।