आज मंगलबार नेप्से ५३ अंकमाथि उक्लिएर बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर आजै नियुक्ति हुने सम्भावनासहितका खबरहरु बाहिरिएपछि शेयर लगानीकर्ताहरु हौसिएका छन् । बजार खुलेको मध्यान्तरसम्म सामान्य अवस्था रहेको नेप्से गभर्नर नियुक्तिका खबरहरु आउन थालेपछि तीव्र रुपमा बढ्न थालेको हो । पछिल्लो डेढ घण्टामा सकारात्मक लय समातेको नेप्से ५३ अंकमाथि उक्लिएर बन्द भएको छ ।
आज मंगलबार नेप्से परिसूचक ५३ अंक बढेर २६८१.३६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। सोमबार ७ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ७.३९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।