आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रियसभाको बैठक अपराह्न सवा १ मा बस्दै छ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नेछन् । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।