गभर्नरमा आफ्नो कोही पनि उम्मेदवार नरहेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा आफ्नो कोही पनि उम्मेदवार नरहेको प्रष्ट पारेका छन् । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले जो गभर्नर बने पनि काम गर्न सक्ने सक्षम व्यक्ति मेरिटमा बन्ने बताएका हुन् ।

‘राष्ट्र बैंकको गभर्नरमा मेरो आफ्नो भन्ने उम्मेदवार कोही पनि छैन । सक्षम मान्छे ल्याउँ भन्ने मेरो सधैं आग्रह हुन्छ । जो ल्याउने हो मेरिटको आधारमा ल्याउँ । काम गर्न सक्ने मान्छे भए देशलाई भइगयो नि । यो र उ भन्ने कुरा के भयो र सक्षमता चाहियो’, उनले भने ।

साथै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उम्मेदवार आफ्नै, परीक्षा गराउने मान्छे आफ्नै, जाँचकी आफ्नै र ‘कसको नाम निकालौं हजुर’ भनी सोधेर नियुक्ति गरेर मेरिटोक्रेसीको धाक लगाउन नहुने बताए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गर्दा पहिलो पटक मेरिटोक्रेसीको सुरुवात गरेका थिए । तर, मेरिट लिस्टमा १ नम्बरमा भएकालाई नियुक्त नगरी दोस्रो नम्बरका व्यक्तिलाई त्रिविको उपकूलपति नियुक्ति गरिएको भन्दै प्रचण्डको आलोचनासमेत भएको थियो ।

प्रचण्डलाई लक्ष गर्दै उनले भने, ‘जाँच लिएझैं गर्ने, जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, अन्तरवार्ता लिने आफ्नै, नतिजा निकाल्ने आफ्नै, कसको नाम निकालौं हजुर भनेर सोधेर फलानाको नाम निकाल भनेर मेरिटोक्रेसीको धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौं न । जाँच लिने भए लिउँ । तर, फियरली (स्वच्छ) जाँच लिऔं,’– उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर