देशको पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक/दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।