त्रिभुवन राजपथको केही खण्ड दैनिक पाँच घन्टा बन्द गरिने

काठमाडौं । काठमाडौं प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ यही वैशाख २२ गते सोमवारदेखि ३१ गतेसम्म रातको समयमा दैनिक पाँच घन्टा बन्द गरिने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको सडक निर्माणमा केही सुधार गर्नुपर्ने भएकाले नौ दिनका लागि बन्द गर्न लागिएको हो ।
नागढुङ्गामुग्लिन सडक योजनाका प्रमुख केशव ओझाका अनुसार त्रिभुवन राजपथको केही भाग राजधानी काठमाडौंमा पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय काठमाडसँग सहकार्य गर्दै सडक निर्माण सुधार गर्नुपर्ने भएकोले बन्द गर्न लागिएको हो । बन्दको उक्त समयमा राजधानी काठमाडौं प्रवेशका लागि आएका सबै सवारीलाई धुनीवेशी नगरपालिकास्थित खत्री पौवा र बाहिरिने सवारीलाई काठमाडौंको थानकोट चेकपोस्टलगायतका स्थानमा राखिने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङमार्फत नागढुङ्गा–मुग्लिन सडक आयोजनाले एक सूचना जारी गदै त्रिभुवन राजपथ भएर सङ्घीय राजधानी प्रवेशका लागि आउने र राजधानीबाट बाहिरिने सबै सवारीसाधनले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी हाँक्न र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ । आयोजनाले सूचनामा साना तथा हल्का र मझौला सवारीका साधनलाई सङ्घीय राजधानी प्रवेशका लागि धार्के सीतपाइला र सामाखुसी टोखा गुर्जेभञ्ज्याङ्ग सडक गल्छी सडक प्रयोग गर्न आग्रह समेत गरेको छ ।
बन्दको समयमा अत्यावश्यक सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता सवारीसाधन भने चलाउन पाउने छन् । एक्र राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीसाधन गुड्ने गरेको पाइन्छ ।