सरकारको नीति तथा कार्यक्रम सही ढङ्गले आएको प्रधानमन्त्रीको दावी

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए । “हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ’’, पार्टी अध्यक्ष ओलीले भने, “हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छुु ।’’

प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समाजमा विकासको प्रतिफल प्राप्त गर्नबाट वञ्चितहरुको पहुँच वृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गरे ।

नेपालले युएनलाई आत्मसात् गरेर अन्तर्राष्ट्रिय नीति अगाडि बढाउने

यसैगरी प्रधानमन्त्री ओलीले सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध बनाएर अगाडि बढ्ने बताए । नेपालले युएनलाई आत्मसात् गरेर अन्तर्राष्ट्रिय नीति अगाडि बढाउनेसमेत प्रधानमन्त्री ओलीले बताए। युएनको बडापत्र, मानवअधिकार घोषणापत्र, समानता तथा राष्ट्रिय हितका लागि अन्तर्राष्ट्रिय सम्झौताहरूलाई आत्मसात् गर्ने उनले बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग समान सम्बन्ध राख्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रा बाहिरी र आन्तरिक नीतिहरू सुस्पष्ट र सही छन्।’

नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको बताउँदै उनले असंलग्न आन्दोलनका सिद्धान्तहरूलाई मानेर अगाडि बढिरहेको पनि बताए। उनले भने, ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, हामी कसैसँग संलग्न हुँदैनौ, हामी कुनै सैन्य गठबन्धनमा सामेल हुँदैनौ।’

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले वादविवाद वा कुनै पनि प्रकारको तनाव भएमा कसैप्रति ढल्किने भन्दा तटस्थ ढङ्गले वार्ताद्वारा समस्याको समाधान होस् भन्ने ढङ्गले अगाडि बढ्ने आकाङ्क्षा राखेको बताए।  ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नेपालको नीति रहेको बताउँदै प्रधानमन्त्री ओलीले यी सबै कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताए। उनले भने, ‘हाम्रो अधार पोलिसी यिनै हुन्।’

अहिले कसैको तनावमा सामेल नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सबैसँग समान मित्रवत् व्यवहार गरेर अगाडि बढ्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर