ओडिशामा अर्की नेपाली छात्रा मृत भेटिइन्, परराष्ट्रद्वारा छानविन गर्न पहल सुरु

काठमाडौं । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीको निधन भएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको छ ।
केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा प्रिशा साह बिहीबार झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सरकारको मौनताप्रति प्रश्न उठाएको छ । एबीभीपीका राष्ट्रिय महासचिव वीरेंद्रसिंह सोलंकीले भनेका छन्, “पुनः यस्तो गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार किन चुप लागिरहेको छ ?” उनले घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भन्दै कडा टिप्पणी गरे ।
ओडिशा पूर्वकी एबीभीपी राज्य सचिव दीप्तिमयी प्रतिष्ठारीले विश्वविद्यालयमा आत्महत्याका घटनाहरू पटक–पटक हुनुले यसको विश्वसनीयता माथि प्रश्न उठ्ने बताइन् । उनले तत्काल विश्वविद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गर्दै मृतक छात्रालाई न्याय दिनुपर्ने माग गरिन् । गएको फागुनमा केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको छ ।
यसैबीच परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिशा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छन् ।