आज तीन प्रदेशमा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज तीन प्रदेशमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान उक्त पानी पार्ने प्रणाली भारतको दिल्लीबाट नेपालको सुदूरपश्चिमतर्फ सरिरहेको छ। यसले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्दै विभागले विहान सामाजिक सञ्जालमा एक पोस्ट गरेको छ।
पोस्टमा लेखिएको छ, ‘हाल मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकोले अझै सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला।’
पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले बादल लाग्ने र पानी पर्ने भइरहेको विभागले जनाएको छ। यो क्रम आगामी तीन दिनसम्मै जारी रहने छ। तीन प्रदेशबाहेक अन्य प्रदेशमा पनि अपरान्हमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।