सर्वोच्चको पत्र कारागार पुगेसँगै रेशम चौधरी रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’ भएको जानकारी गराउँदै उनलाई रिहा गर्न सर्वोच्च अदालतले पठाएको पत्र डिल्लीबजार कारागर पुगसँगै उनलाई रिहा गरिएको हो ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गर्नका लागि आज बिहान पठाइएको पत्र अनधिकृत भएको भन्दै सर्वोच्च अदालतले पत्र कार्यान्वयन नगर्न पत्र काटेको थियो । अदालतले डिल्लीबजार कारागार कार्यालयलाई पत्र लेखी मानबहादुर बिष्टको नामबाट काटिएको पत्र अनधिकृत भएको र सो पत्र कार्यान्वयन नगर्न पत्राचार गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता एवम उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए ।
अनधिकृत पत्र लेखेर पठाउने सर्वोच्च अदालतकै मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह बिष्टलाई विभागीय कार्वाहीका लागि अनुसन्धान सुरु गरिएको पनि उनले जानकारी दिए । आजै बिहान मात्र चौधरीलाई अनधिकृत पत्रका आधारमा पक्राउ गरिएको थियो ।