मोदीजीसँग सकारात्मक संवाद भयो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन्। भेटवार्तापछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।’ थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।
प्रधानमन्त्री ओलीसँगको भेट फलदायी : मोदी

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन्। बैंककमा शुक्रबार भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो।’
मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन्। दुई नेताबीच ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल भएको मोदीले जनाएका छन्।
‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौँ।’
