दीपक थापा नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक

काठमाडौं । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त गरेको छ । हिजो सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरियतामा रहेका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । थापापछि दोस्रो र तेस्रो वरियतामा क्रमशः एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।
प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षक
नियुक्त गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने व्यवस्था छ । सरकारले यही नियमावली अनुसार नै वरिष्ठतम् एआइजी दीपक थापालाई नै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखका रूपमा कार्यरत थापाले यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व सम्हालिसकेका छन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतका विभिन्न विभाग तथा जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न प्रहरी युनिटहरूको कुशलतापूर्वक कमान्ड सम्हालिसक्नु भएका थापा प्रहरी सङ्गठनमा निडर र स्वच्छ छविका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण तथा विभिन्न सरकारी जग्गा हिनामिनाबारे थापा नेतृत्वको प्रहरीले कुशल अनुसन्धान गरेको थियो । २०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना हुनुभएका थापाले अपराध अनुसन्धानसँगै कमान्ड कन्ट्रोल र कार्यक्षमतामा अब्बल मानिन्छ ।
आइजिपी कुँवरको बिदाइ
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यव्रmममा गृहमन्त्री रमेश लेखकले कुँवरलाई शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा पु¥याएको योगदानको प्रशंसा गर्दै बिदाइ गरे । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले पनि कुँवरलाई बिदाइ गर्दै अवकाश जीवन थप क्रियाशील भई प्रहरी सङ्गठनलाई थप प्रभावकारी बनाउने गरी योगदान गर्न आग्रह गरे ।
यसैगरी प्रहरी प्रधान कार्यालय नक्शालमा पनि आइजिपी कुँवरसहित नौ जना उच्च प्रहरी अधिकारीको बिदाइ गरियो । विसं २०५१ चैत ५ गते नेपाल प्रहरी निरीक्षकमा भर्ना भई प्रहरी सङ्गठनमा प्रवेश गरेका आइजिपी कुँवरका सहब्याची अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई ३० बर्से सेवा अवधि पूरा गरी सोमबार एकैसाथ अवकाश भएका हुन् । यसैगरी ३० बर्से सेवा अवधि पूरा गरी प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र विराज राउत पनि अवकाश भएका छन् ।