डिडिसीले ६ महिना अघिदेखिको दूधको रकम नदिएको इलामका किसानको दुखेसो

काठमाडौं ।  दुग्ध विकास संस्थानलाई आफूहरुले बिक्री गरेको ६ महिना अघिदेखिको दूधको रकम नपाएको भन्दै कोशी प्रदेशका दुग्ध किसानहरुले आज कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । किसानहरुले कोशीका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । सरकारले दुग्ध किसानको असार मसान्तसम्मको दूधको मूल्य भुक्तानी गर्न संस्थानलाई निर्देशन दिए पनि गएको वैशाख १५ यता संस्थानले दूधको भुक्तानी नदिएको किसानले बताएका छन् ।

अहिले कोशीका किसानहरुको दूधको मूल्य करिब १९ करोड रुपियाँ दिन बाँकी रहेको राष्ट्रिय कृषक समूह महासङ्घले जनाएको छ । वैशाख १५ यता असार मसान्तसम्म मात्रको भए पनि अबको सात दिनभित्र भुक्तानी दिन आग्रह गरिएको ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय इलाम पुगेका राष्ट्रिय कृषक समूह महासङ्घ इलामका संयोजक राम मगरले बताए ।

“इलाममा धेरै किसानले डिडिसीलाई दूध बिक्री गर्दै आएका छन् । लामो समयदेखि मूल्य नपाउँदा किसानको घरमा आर्थिक समस्या चुलिएको छ,” मगरले भने, “अब त डिडिसीले इलाममा रहेका तीन वटा चिस्यान केन्द्र पनि बन्द गरिसकेको छ । किसानहरुबाट विश्वास गुमाउँदै गएको छ ।” दुग्ध विकास संस्थान (डिडिसी) को तथ्याङ्क अनुसार कोशी प्रदेशमा वार्षिक उत्पादन पाँच लाख ७५ हजार ५०४ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । आयोजनाले इलामबाट आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट ६ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आसपासका किसानबाट एक हजार लिटर तथा अन्य आयोजना डेरी, निजी फार्मबाट १५ हजार लिटर दूध लिने गरेको जनाइएको छ ।

कृषक समूह महासङ्घ इलामका अनुसार डिडिसीलाई दूध बिक्री गर्ने कोशीका १४ हजार ६९८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखि उधारोमा दूध बिक्री गर्नुपर्दा अहिले किसानहरुलाई दैनिक छाक टार्नसमेत समस्या हुन थालेको कृषक समूह महासङ्घ कोशी इन्चार्ज कुसुम दाहालले बताए । ‘बिहान बेलुकाको खाना खान समस्या छ, बालबालिकालाई कापी किताब किन्न समस्या छ, समयमा पैसा चलाउन नपाउँदा धेरै परिवारमा तनाव बढेको छ’, दाहालले भने, ‘मन्त्रीपरिषदको बैठक बसेर डिडिसलाई दुधको मूल्य निकासा गर्न निर्देशन नै दिएको थियो । तर डिडिसीले अटेर गरेको हामीले प्रत्यक्ष भोगिरहेका छौं ।’ तत्काल किसानको रकम भुक्तानी नभए किसानहरु आन्दोलनमा जाने तयारी गरेको दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर