मौसम : मुख्यतया सफा रहने
काठमाडौं । यस वर्षको मनसुन मङ्गलबार देखिनै काठमाडौं उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिए पनि केही भेगमा मनसुनी वायुको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोसी र मधेस प्रदेशका अधिकांश भूभाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
बिहीबार बिहान देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहीबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।
कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
