भक्तपुरमा सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुर । दशैंको अवसर पारेर भक्तपुरमा सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । महोत्सव भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी असोज ९ गते बुधबारदेखि १९ गते शनिबारसम्म सल्लाघारीस्थित मैदानमा हुन लागेको हो ।

सोमबार कमर्सको कार्यालयमा आयोजित पत्रकार संम्मेलनमा महोत्सवमा उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, बिक्रीका लागि राखिने कमर्सका अध्यक्ष कविदास श्रेष्ठले जानकारी गराए ।

यसको साथै महोत्सवमा औद्योगिक उत्पादन प्रदर्शनी, जडीबुटी तथा औषधी, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामग्री, सूचना तथा विज्ञान प्रविधि प्रदर्शनी, प्रविधि गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, सामान प्रदर्शनी तथा प्रदर्शनी स्टल पनि राखिने भएको छ ।

महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदि मनोरञ्जन तथा खेलकुद गतिविधिका साथै महोत्सव अवधिभर प्रख्यात कलाकारहरूको सांगीतिक प्रस्तुति रहने उनले बताए ।

महोत्सवलाई व्यवस्थित पार्न विद्यार्थीलाई ५० र अन्यलाई ७० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । साथै महोत्सवमा ज्येष्ठ नागरिक र शारिरीक असक्षम व्यक्तिहरुका लागि निःशुल्क प्रवेश व्यवस्था मिलाइएको छ । महोत्सवमा करिब दुई लाख पचास हजार अवलोकनकर्ता एवं उपभोक्ताको आगमन हुने र करिब १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको महोत्सवका संयोजक तथा कमर्सका उपाध्यक्ष माधव प्रसाद प्रजापतिले जानकारी दिए ।

स्टलको शुल्क भने १८ हजार पाँच सयदेखि एक लाखसम्म तोकिएको उनले बताए । उक्त मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली जिल्लाका बासिन्दाहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर