अर्थतन्त्रमा सुधार आएको सरकारको दावी हावादारी : परिसंघ
काठमाडौँ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिसंघले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाबारे गरेको सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो ।
परिसंघले गरेको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । परिसंघ अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रमा सुधार भएको दाबी गरेपनि परिसंघको सर्वेक्षणले सुधार भएको नदेखाएको बताएका हुन् ।
उनले कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र समग्र बजार माग खस्किरहेको देखिएको दाबी गरे । उनले अर्थतन्त्रमा आएको मन्दीको कारण उद्योगहरूको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको उल्लेख गरे ।
उनले परिसंघको सर्वेक्षणले औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएकोमा चालु आवको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको बताए । अध्यक्ष अग्रवालले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले सङ्कुचन देखिएको उल्लेख गरे । उनले गत आर्थिक वर्षको तुलनामा उद्योगहरूको कारोबार रकम पनि ३०.५४ प्रतिशतले खुम्चिएको बताए ।
अध्यक्ष अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको सर्वेक्षणले देखाएको बताए । अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्र असाधारण खालको डेडलक देखिएको बताए । उनले अर्थतन्त्रमा बैंकको ब्याजदर घटे पनि बजार माग बढे पनि अर्थतन्त्र सुधार हुने अवस्थामा नभएको परिसंघको धारणा रहेको बताए ।
उनले अर्थतन्त्रमा देखिएको असाधारण खालको डेडलकलाई सुधार गर्न गर्नुपर्ने उपायको खोजीमा अर्थतन्त्रका जानकारहरूसँग छलफल गर्ने तयारीमा रहेको बताए । उनले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरे । उनले तीन त्रैमासिकदेखि अर्थतन्त्र नेगेटिभ ग्रोथमा चलिरहेको बताए । सरकारले अर्थतन्त्र सुध्रिएको दाबी गरिरहेको तर आफूअनुकूल विवरण मात्रै देखाउने गरेको उल्लेख गरे । उनले बजारमा मागमा आएको उच्च गिरावटले अर्थतन्त्रलाई मन्दीमा लगेको प्रमाणित हुने दाबी गरे ।
उनले बजारमा मागको कमी अन्तर्राष्ट्रिय रुपमा मूल्य वृद्धि भएकाले भएको बताए । उनले बजार मूल्यलाई नियन्त्रण गर्न सरकारको नीतिले नसकेको बताए । कोभिडको समयमा राष्ट्र बैंकले लिएको खुला नीतिलाई कडाइ गरेकाले माग घट्न गएको अध्यक्ष अग्रवालको भनाइ छ । उनले बजारको माग बढाउने वा घटाउने भन्ने सरकारको नीतिमा निर्भर हुने उल्लेख गरे ।
उनले सरकारले पुँजीगत खर्च गर्नसके मात्रै मुलुकको अर्थतन्त्र चलायमान बनाउने बताए । अर्थतन्त्र सुधार गर्नको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भएपनि खर्च बढाउन नसकेको निष्कर्ष उनको छ । उनले सरकारबाट निर्माण व्यवसायीहरूले पाउनुपर्ने ४० अर्ब रुपैयाँ भुक्तानी हुन आवश्यक रहेको बताए । उनले सरकारले बैंकको ब्याजदर घटाउने कुरा गरिरहेको भएपनि सरकार आफैँ साधारण खर्च धान्नको लागि बजारबाट पैसा उठाई रहेको दाबी गरे ।
