लिम्चुङबुङ गाउँपालिकाको अभियान : गाउँको समृद्धिका लागि पर्यटन महाअभियान

काठमाडौं । एकै पुस्तामा गाउँ समृद्ध बनाउने अभियानका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले महाअभियान चलाएको छ । गाउँ समृद्ध नभए जिल्ला समृद्ध नहुने र जिल्ला समृद्ध नभएसम्म देशले समृद्धिको बाटो समाउन नसक्ने भएकाले सबैभन्दा पहिला गाउँको समृद्धिलाई प्राथमिकतामा राखेर महाअभियान सञ्चालन गरिएको हो ।

केही नबेचिकन अर्थ जुराउन नसकिने र अर्थविना गाउँको समृद्धि असम्भव हुने भन्दै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई भन्छन्। “यस गाउँपालिकको समृद्धिका लागि सबैभन्दा पहिला मदन भण्डारी हाइ–वेबाट गाउँपालिकासम्म पक्की सडकको निर्माण गर्न हामी केन्द्रित रहेका छौँ ।” लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान हो, यहाँबाट सगरमाथासहित ६ वटा ८ हजार मिटर अग्ला मनोरम हिमाल आँखा अघिल्तिरबाट हेर्न सकिने अध्यक्ष राई बताउँछन् ।

यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको भरपूर उपयोग गर्न प्रकृति, संस्कृति र कृषिलाई बेच्नमात्र सके पनि यस क्षेत्रका बासिन्दाले राम्रो लाभ लिने बताउँदै अध्यक्ष राई भन्छन्, “आर्थिक पाटो मजबुत भए शिक्षा र स्वास्थ्य क्षेत्र आफैँ सक्षम बन्ने छ ।” लिम्चुङबुङ नेपालको पर्यटन उद्योगको एक अभिन्न बनेर पर्यटन उद्योगमा थप योगदान पुर्‍याउन सक्ने विश्वासका साथ उक्त क्षेत्रमा हरेक प्रकृतिप्रेमी नेपालीले एक पटक भ्रमण गर्नैपर्ने पक्षमाथि अध्यक्ष राईले जोड दिए ।

लिम्चुङबुङ गाउँपालिकाको पर्यटनसम्बन्धी सल्लाहकार एवं उदीयमान उद्यमी रामसुन्दर बके भन्छन्, “यस गाउँपालिकास्थित एभरेष्ट भ्यूटावरबाट आँखैअघि सेताम्मे हिमाल, पहाडलगायत तराईका फाँटहरूको मनोहर दृश्य अवलोकन गर्न सकिन्छ ।”

पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रमा होम–स्टे सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै उद्यमी बके भन्छन्, “यस क्षेत्रमा होम–स्टे सञ्चालनमा आएसँगै स्थानीय कृषिजन्य उपजले राम्रो बजार पाउनुका साथै स्थानीयस्तरमा समेत रोजगारी सिर्जना हुनेछ ।” युवालाई नेपालमै आफ्नै स्थानमा रोजगारीको सिर्जना गर्न सक्ने प्रमुख माध्यम भनेको पर्यटन क्षेत्र भएकाले विदेश गएर  पछि बाकसमा मृत फर्किनुपर्ने बाध्यताको अन्त्यका लागि हरेक तह र तप्काबाट नेपालको पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बके बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर