आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
आज दिउँसो हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया; सफा रहनेछ । हिमाली क्षेत्रका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । तराई भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
